एशियन कङ्क्रिटोको ‘मोज्याक’ टायल गुणस्तरमा अब्बल भएसंगै माग बढ्दो, एक वर्षमै १० करोड रुपैयाँ भन्दा बढी बिक्री

29/09/2078

नारायण अधिकारी, चितवन (रासस) : लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो । भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउनुहुन्छ । छ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उहाँको भनाइ छ । भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उहाँ बताउनुहुन्छ । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ । यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ । चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।” हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनहरु ढुङ्गा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उहाँको भनाइ छ । निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जग्गदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उहाँले बताउनुभयो । नारायणगढको कृषि प्रवद्र्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले रु दुई करोडभन्दा बढी लगानी गरेर एशिएन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।” यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उहाँ बताउनुहुन्छ । पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्याङ्क्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउनुहुन्छ । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उहाँले बताउनुभयो । यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै रु १० करोडभन्दा बढीको मोज्याक टायल बिक्री गरेको बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाका सडक, सडकपेटी, मन्दिर, पार्टी प्यालेस, होटल परिसर, फनपार्क, बजार परिसर, अम्रेला स्ट्रिट, मदन भण्डारी पार्क गाँजीपुरलगायत ठाउँमा एशिएन कङक्रिटो प्रयोग भएको छ । नारायणी नदी किनार, कृषि प्रवद्र्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रु १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउनुहुन्छ । भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईवटा मात्रै रहेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उहाँले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताउनुभयो । गत वर्षमात्रै कम्पनीले रु ५० करोडभन्दा बढीको उत्पादन बिक्री गरेको छ ।
ORIGINAL ARTICLE (SAURAHA ONLINE)