28/07/2077
एसियन कंक्रिटो प्रालिले ललितपुर महानगरपालिकासँगको सहकार्यमा अपाङ्गमैत्री र वातावरणमैत्री नमुना फुटपाथ निर्माण गरी हस्तान्तरण गरेको छ । हरिहर भवनदेखि एमएमबी बैंकसम्मको ९० मिटर फुटपाथ निर्माण गरी शुक्रबार महानगरपालिकालाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नै उत्पादन, लागत र प्राविधिक सहयोगमा निमार्ण सम्पन्न गरी हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले एसियन कंक्रिटो कम्पनीको सम्पूर्ण लगानी रहेको फुटपाथमा महानगरपालिकाले कुनै पनि प्रकारका आर्थिक दायित्व बहन नगरेको बताए । महानगरपालिकाको अन्य क्षेत्रमा पनि अपाङ्गमैत्री र वातावरणमैत्री फुटपाथ निर्माण गरिने र त्यसका लागि कम्पनीसँग सम्झौता गरी अगाडि बढ्ने पनि बताए । कम्पनीका निर्देशक अनिल जेटियाले जुनसुकै निकाय र कम्पनीले पनि सडक निर्माणका क्रममा फुटपाथ निर्माणलाई प्राथमिकता नदिने गरेको बताए । वातानुकुलित र सुन्दर फुटपाथ निर्माणका लागि गुणस्तरीय उत्पादन र नयाँ प्रविधि नै रहेको उनले बताए । कम्पनीले १९ लाख ५८ हजार ८७८ रुपैयाँको लगानीमा फुटपाथ निर्माण गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फुटपाथ निर्माण गरिएको कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले बताए ।
ORIGINAL ARTICLE ( FARAK DHAR)